काठमाडौं, २१ असार । पशुपतिनाथको ११ सय बिघा जग्गा गायब। पशुपतिनाथको २३१ रोपनी गायब। पशुपतिको सुन गायब। एक महिनायता सञ्चारमाध्यममा यस्तै शीर्षकका समाचारले जनमानसमा एक किसिमको हलचल ल्यायो। विश्वका करोडौं हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र नेपालको राजधानी काठमाडौंस्थित पशुपतिनाथका विषयमा प्रकाशित यस्ता समाचारले सर्वसाधारणदेखि सरकारसम्मलाई सोच्न बाध्य बनायो।
बहसमा अनेक तर्कवितर्क आए। जग्गा र सुनसम्म गायब भएपछि पशुपतिनाथ मन्दिरमा चढाइने भेटीघाटीमा पनि त घोटाला भएको होला ? त्यहाँ भएका चलअचल सम्पत्तिमा कति तलमाथि भएको होला ? भेटी, सुन र जग्गाकै संरक्षण गर्न नसक्ने भएपछि पशुपतिनाथलाई दान गर्नु र दक्षिणा चढाउनुको अर्थ के ? अन्यत्र त यस्ता थुप्रै घटना हुन्छन् तर पशुपतिनाथकै चलअचल सम्पत्ति यसरी हत्याउन थालेपछि अब के हुन्छ ?
यस्ता थुप्रै विषयले गरमागरम बहस बढाएको छ। भनिन्छ, ‘पशुपतिनाथले रक्षा गरून्।’ अनादि कालदेखि पूजाआजा गरिँदै आएको पशुपतिनाथबाट सबैले यही अपेक्षा गरेका छन्। तर, पछिल्ला घटनाक्रमले यो नारा फेरिनुपर्ने तर्कसमेत अघि सरेको छ, ‘पशुपतिनाथकै रक्षा गरौं।’
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।