काठमाडौं, १५ असार । महालेखापरीक्षक टंकमणि शर्माले राज्यले दिएको जिम्मेवारीलाई आग्रह पुर्वाग्रह नराखी दृढतापुर्वक पालना गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
आइतबार राजधानीमा आयोजित महालेखापरीक्षकको कार्यालयको ६१ औ बार्षिकोत्सव कार्यक्रममा शर्माले महालेखा परीक्षकको कार्यालय अरुको दोष र खोट देखाउने जिम्मेवारीमा भएकाले कर्मचारीले आफु चोखो हुनुपर्ने बताउनुभयो । उहाँले आग्रह पुर्वाग्रहमा पर्दा प्रतिवेदन नै गलत ठहरिने भन्दै त्यस तर्फ सचेत र जिम्मेवार बन्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले महालेखा परीक्षकको कार्यालयलाई दीगो विकास लक्ष्यका १७ सुचकांकको पनि लेखा परीक्षण गर्ने जिम्मेवारी दिईएको जानकारी गराउनुभयो ।
उहाँले राज्यका सबै संयन्त्र विकेन्द्रीकृत भएपनि महालेखापरीक्षकको कार्यालयले अहिले सम्म केन्द्रीय ढंगले काम गर्दै आएकाले औपचारिकतामा मात्रै सिमिति नभई वर्तमान परिपेक्ष्यमा औचित्य, मितव्ययीता र प्रभावकारीतालाई पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।