काठमाडौं, १५ असार । एउटै सडकमा तीन तहका सरकारले बजेट विनियोजन गरी निर्माण अघि बढाएका छन् । तनहुँको धार्मिक स्थल छाब्दीबाराही मन्दिर जाने मुख्य सडक कालोपत्रेका लागि संघ, प्रदेश र स्थानीय सरकारले चालु आर्थिक वर्षमा बजेट दिएका हुन् ।
छाब्दीमार्ग नामकरण गरिएको सडकको स्तरोन्नतिको काम भइरहेको छ । सडकका लागि संघीय र प्रदेश सरकारले १ र १ करोड रुपैयाँ तथा व्यास नगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजित गरेका छन् ।
दमौली छाब्दीमार्ग सडकखण्डको कुन्छाटोलदेखि मोहरिया टोलसम्म संघीय सरकारले दिएको बजेटबाट कालोपत्रे गरिँदै छ । मोहरियाटोलदेखि गौडापहरासम्म प्रदेश सरकार र छाब्दीको बसपार्कबाट स्थानीय सरकारले विनियोजन गरेको बजेटबाट काम भइरहेको दमौली छाब्दीमार्ग उपभोक्ता समितिका अध्यक्ष मणिजंग बस्नेतले जानकारी दिए ।
‘एउटै सडकमा तीनै तहका सरकारको बजेट छ,’ उनले भने, ‘यो खुसीको कुरा हो ।’ उपभोक्ता समितिले कालोपत्रेको काम गरेको छैन । टेन्डर आहान गरी ठेकेदारले कालोपत्रेको काम गरेको उनले बताए । सडकको स्तरोन्नतिको रेखदेख गर्न उपभोक्ता समितिलाई जिम्मेवारी छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।