काठमाडौं, १४ असार । मानो रोपेर मुरी फलाउने किसानको महोत्सव धानबाली रोपाइँलाई यस वर्ष न प्रकृतिले साथ दियो, न त सरकारी अनुदानित मलले। यस वर्ष किसान सरकार र प्रकृृति दुवैबाट ठगिन बाध्य भए।
धानबाली रोपाइँकै समयमा न त मनसुनी पानी पूर्ण रूपमा सक्रिय हुन पायो, न त सरकारले किसानलाई चाहिने परिमाणमा समयमा मल नै उपलब्ध गराउन सक्यो। यी दुई नियतिको भुमरीमा किसान पेलिन बाध्य भए। सिँचाइ भएका क्षेत्रका किसानले आइतबार दही–च्युरा खाएर राष्ट्रिय धान दिवस मनाउने तयारी गरेका छन्। नभएका ठाउँमा, उही त हो–पुर्पुरोमा हात।
करिब १० दिन ढिलो गरी सुरु भएको मनसुनी वर्षा सबै क्षेत्रमा एकै रूपले सक्रिय हुन सकेन। कुनै स्थानमा थोर बहुत परेको छ। कुनै स्थानमा मनसुनी पानी नपरेर धानको ब्याडसमेत किसानले राख्न पाएका छैनन्। यसले अघिल्लो वर्षको तुलनामा देशभर धान रोपाइँ प्रभावित भएको छ।
धानको अत्यधिक उत्पादन मध्य र पूर्वी क्षेत्रमा हुन्छ। तर, ती दुवै स्थानमा यस वर्ष औसतभन्दा कम परिमाणमा मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसम विज्ञ सुभाष रिमालले मध्य र पूर्वी भेगको धानबालीलाई आवश्यक परिमाणभन्दा कम पानी पर्ने अध्ययनले देखाएको जानकारी दिए।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।





