काठमाडौं, १३ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न आह्वान गर्नु भएको छ । प्रहरी महानिरीक्षक खनालले काठमाडौंको ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको लागि नभई सबै नागरिकका लागि भएकाले त्यसमा सबैको सहयोगको आवश्यक्ता रहेको पनि स्पष्ट पार्नु भयो ।
शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सडक दुर्घटना न्यूनिकरणका लागि पनि सबैको सहयोगका जरुरी रहेको पनि बताउनु भयो ।
प्रहरी महानिरीक्षक खनालले समय निकालेर यात्रामा निस्कन पनि सवारी चालकहरुलाई आग्रह गर्नु भयो । समयमा ननिस्कने अनि गन्तव्यमा ढिला पुगे ट्राफिक जामलाई दोष दिने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने महानिरीक्षक खनालको भनाई छ ।
प्रहरी महानिरीक्षक खनालले काठमाडौंलाई सुन्दर सहरको रुपमा परिचित गराउन पनि यसको ट्राफिक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनुपर्ने पनि स्मरण गराउनु भयो । उहाँले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि सामुदायसँगको साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।