काठमाडौं, १२ असार । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद पुनर्गठन हुने संकेत गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले मन्त्रीपरिषद पुनर्गठन हुने विषय प्रधानमन्त्रीसँग नीहित हुने पनि स्पष्ट पार्नु भयो ।
बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने र त्यसको अधिकार प्रधानमन्त्रीसँग मात्रै रहेको पनि बताउनु भयो।
मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी ओलीले महशुस गर्नसाथ मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने पनि बताउनु भयो । यो अधिकार प्रधानमन्त्रीमा नीहित रहेकाले आफूले त्यसबारे बोल्न नमिल्ने पनि उहाँले पटक पटक दोहो-याउनु भयो ।
मन्त्री बास्कोटाले मन्त्रीहरु कतिजना फेरिन्छ भनेर समाचार माध्यामले समाचार बनाउनु पनि बेकार हुने बताउनु भयो । उहाँले क्लिन फिड’ लागू गरेरै छाड्ने दृढता पनि व्यक्त गर्नु भयो । संचार माध्यामहरुलाई सबल बनाउने गरी ल्याइएको सो विधेयक संसदबाट पारित हुने उहाँको दावी छ ।