ललितपुर, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ । ललितपुर महानगरपालिकाको मंगलबार ललितपुरमा आयोजित चौंथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि सो बजेट पेश गर्नु भएको हो ।
नगरसभामा पेश गरिएको बजेटमा सबैभन्दा बढि पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । पूर्वाधार विकासका लागि २ अर्व ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो । मेयर महर्जनले पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेट कूल बजेटको ३८ दशमलव ७५ प्रतिशत रहेको पनि जानकारी दिनु भयो ।
त्यसैगरी आगामी आर्थिक वर्षको चालू खर्चका लागि १ अर्व १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको २१ दशमलव ७४ प्रतिशत हो । सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरिएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ ।