काठमाडौं, ८ असार । नेपाल र बंगलादेशबीच जलविद्युत् र नवीकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । आईतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराईएको हो ।
यही असार ५ र ६ गते बंगलादेशको कोक्सस् बजारमा सम्पन्न भएको दुईदेशका सचिवस्तरीय समितिहरुको दोश्रो बैठकले नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको संभावना, नेपालमा जलविद्युत् विकासमा बंगलादेशी निजी प्रवर्द्धकबाट लगानीको संभावना, अन्तरदेशीय विद्युत् प्रसारण लाईनको संभावना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बंगालदेशले आयत गर्ने ५ सय मेगावाट विद्युत् तथा नेपाल र बंगलादेशबीचमा नविकरणीय ऊर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णयहरु अनुमोदन गरेको हो ।
बैठकमा नेपालको तर्फबाट नेतृत्व गर्नुभएका ऊर्जा, जलस्रोत तथा सिंचाई सचिव दिनेश कुमार घिमिरेले नेपालको जलविद्युत्मा लगानी गरि निर्यात गर्ने तथा बैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो ।
सहमतिमा तत्काल भारतको संरचना प्रयोग गर्ने र भविष्यमा बन्ने आयोजना भारतको भूमि हुँदै बंगलादेशसम्म प्रशारण लाईन बनाउने सहमति भएको छ । यसमा भारतको पुर्ण समर्थन हुने विश्वास सचिव घिमिरेले व्यक्त गर्नुभयो ।