मुलुकभरका ९४ औषधि पसल कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मुलुकभरका ९४ औषधि पसल कारबाहीमा

medicine

काठमाडौं, ७ असार । औषधि व्यवस्था विभागले देशभरका ९४ वटा औषधि पसललाई कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरेको विभागले जनाएको छ । कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराइएको छ भने १६ वटालाई बन्द गराइएको छ । १७ वटा औषधि पसललाई निलम्बन गरिएको छ । यस्तै, तीनवटा औषधि पसलविरुद्ध मुद्दा दायर भएको छ ।

दर्ता नभएको, प्रतिबन्धित औषधि बिक्री वितरण भएको, अनुमतिपत्र नलिई व्यवसाय गरिरहेको, एलोप्याथिक पसलमा आयुर्वेदिक औषधि बिक्री वितरण हुने गरेको र नवीकरण नभएकोलगायतका अवस्थामा औषधि पसल सञ्चालन गरेको भन्दै कारबाही गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार औषधि पसल आफ्नो नाममा दर्ता गर्ने र पसल सञ्चालनका लागि अर्कै व्यक्तिलाई दिने गरेको भेटिएपछि केही पसललाई कारबाही पनि गरेको जनाएको छ ।

यस्तै, पाँच प्रकृतिका औषधि फिर्ता पठाइएको छ । एफई–३५ ब्याचको फेक्जोलर, मुम्पिर वइन्टमेन्ट, पोल्जिन एनजेट १५ एमजी नामक औषधि फिर्ता पठाइएको छ । यस्तै, रिङगर ल्याक्टेट सोलुसन फर इन्जेक्सन आइपी नामक औषधि पनि बजारबाट फिर्ता पठाइएको छ । ती औषधिहरू भारतीय र नेपाली कम्पनीबाट उत्पादन भएको औषधि व्यवस्था विभागले जनाएको छ । बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरूको नमुना परीक्षण गर्दा न्यूनगुणस्तर भएको भन्दै बजारबाट फिर्ता पठाइएको हो ।

औषधिको प्रयोगबाट ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० वर्षसम्म कैद र जरिमाना हुने औषधि ऐन, २०३५ मा उल्लेख छ । शरीरको कुनै अंगको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिमाना, अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा जरिमाना वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);