रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिए १७ मजदुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिए १७ मजदुर

rasuwagadi surung

काठमाडौं, ६ असार । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएका छन् । बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेको थियो ।

सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुर रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् । भित्रका मजदुर र बाहिर उद्धारकर्मीबीच रेडियो सेटबाट संवाद भइरहेको छ । सुरुङको मुख थुनिए पनि भित्र अक्सिजन पुगेको र आफूहरू सुरक्षित रहेको जानकारी उनीहरूले दिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै यो एक सय ११ मेगावाटको जलविद्युत् आयोजना बनिरहेको छ । गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि यो परियोजना पर्छ । यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ । पहिरो गएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा खटिएका छन् । ‘उद्धारका लागि पनि हामी तयारी अवस्थामा छौँ । नेपाल प्रहरीको सात, सेनाका १२ र सशस्त्र प्रहरीका २० गरी ३९ जनाको टिम उद्धारका लागि खटिएको छ । तर, राति भएकाले अहिले नै उद्धार गर्न सकिएन । बिहान ६ बजेदेखि नै हामी खट्छौँ । म आफै पनि ५ बजे घटनास्थलमा पुग्ने योजना बनाएको छु,’ प्रजिअ भण्डारीले नयाँ पत्रिकासँग टेलिफोन संवादमा भने ।

माटो र ढुंगा झरेकाले बाटो अवरुद्ध भएको तथा विद्युत् आपूर्ति पनि बन्द भएकाले मजदुरहरूलाई तत्काल बाहिर निकाल्न नसकिएको आयोजना प्रमुख छवि गैरेले बताए । ‘मानवीय क्षति भएको छैन, कामदार सकुशल छन्, उनीहरूलाई बाहिर निकाल्न बिहान उज्यालो हुनासाथ उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइन्छ,’ गैरेले भने ।

चिलिमे जलविद्युत् आयोजनाको सहायक कम्पनीका रूपमा रसुवागढी जलविद्युत् आयोजना स्थापना भएको हो । चिलिमेले यबिाहेक साञ्जेन र मध्यभोटेकोसीको आयोजना पनि बनाउँदै छ । यिनै परियोजनाका लागि ऊर्जा मन्त्रालयले ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम सुरुवात गरेको थियो । स्वयं प्रधानमन्त्री केपी ओली, ऊर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले सेयर आवेदन गरेका थिए ।  रसुवागढी जलविद्युत् आयोजनाको सुरुवातमै ०७२ वैशाखमा भूकम्प जाँदा पहिरोले एकजनाको ज्यान गएको थियो । भूकम्पले आत्तिएर चीन गएका ठेकेदारलाई फर्काउन लामो समय लागेको थियो । चीनको सिडब्लुई कम्पनीले यो आयोजनाको निर्माण गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);