काठमाडौं, ३ असार । श्रम ऐन पालनालगायत माग राख्दै मजदुरले आन्दोलन थालेपछि बौद्धस्थित पाँचतारे तारागाउँ (हायात) रिजेन्सी होटल बन्द गरिएको छ । तारागाउँका कम्पनी सचिव रमणकुमार कर्णले भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई आइतबार पत्राचार गर्दै होटल बन्द गरिएको जानकारी दिएका छन् ।
हायातमा रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघले बिहीबारदेखि सदस्य कामदारलाई भेला गराई धर्नालगायत कार्यक्रम राखेपछि व्यवस्थापनले अनिश्चितकालका लागि सेवा बन्द गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ । कम्पनी सचिवले लेखेको पत्रमा मजदुरहरूले जबर्जस्ती कामदारलाई साथमा लिई सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक कामकारबाही अवरुद्ध गरेकाले अतिथिलाई सेवा–सुविधा पुर्याउन नसक्ने जनाएका छन् । उनले पत्रमा ‘होटलको रिजर्भेसनसमेत बन्द गर्न व्यवस्थापन बाध्य भएको’ उल्लेख गरेका छन् ।
अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार होटल हडताल निषेधित क्षेत्र भएको उल्लेख गर्दै तारागाउँले मजदुरको हडतालका कारण बन्द गर्नुपरेको जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।