दाङ, १ असार । पछिल्लो समय पक्राउ पर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरूले हिरासतबाटै राजीनामा लेख्न थालेका छन् । यसलाई कतिले प्रहरीबाट फुत्कने रणनीतिका रूपमा लिएका छन् त कतिले साँच्चिकै उक्त समूह छाडेको ठानेका छन् ।
नेकपाका घोराही उपमहानगर इन्चार्ज सहदेव थारूले लामो समय हिरासत बसेपछि पार्टी परित्याग गरेको घोषणा गरे । १० वर्षे सशस्त्र द्वन्द्वमा समेत सामेल उनको यो घोषणाले धेरैलाई अचम्ममा पार्यो । त्यसपछि क्रमशः हिरासतमा रहेका अन्य नेताको पनि पार्टी छाडेको प्रेस विज्ञप्ति आयो । प्रहरीले उनीहरूलाई थुनामुक्त गर्यो ।
सबै विज्ञप्तिको भाषा एकैखाले छ । प्रहरीले पक्रने, अदालतले छाड्न आदेश दिने र फेरि पक्राउ गर्ने क्रम चलिरहेको छ । कतिपयको बुझाइमा पटकपटक पक्राउ गर्न कठिन भएपछि प्रहरीले नै विज्ञप्ति तयार पारेर हस्ताक्षर गर्न लगाएको हो । माथिल्लो निकायमा पार्टी छाडेको विज्ञप्ति आएका कारण छाडेको भनेर रिपोर्टिङ गर्ने र अदालतको आदेशबाट पनि बच्ने उपाय अवलम्बन गरेको हो । नेकपा छाड्ने नेताहरू बढेको देखाएर प्रहरीले आफ्नो उपलब्धि देखाउन खोजेको केहीको बुझाइ छ ।
पार्टी छाडेको विज्ञप्ति जारी गर्नेहरूले घरायसी कारण देखाएका छन् । ‘श्रीमती बिरामी भएकाले घरमा हेरचाह गर्ने कोही भएन । लामो समय थुनामा बस्दा घर लथालिंग भयो,’ थारूले भने, ‘मेरो आफ्नै समस्या भएकाले पार्टीबाट राजीनामा दिनुपरेको हो । अहिले घरकै काममा ध्यान दिइरहेको छु ।’ समय परिस्थितिअनुसार राजनीतिमा फेरि लाग्ने या नलाग्ने भन्ने निर्णयमा पुग्ने उनले बताए । बंगलाचुली गाउँपालिका इन्चार्ज शशिधर दमाईं पनि पार्टी छाडेको विज्ञप्ति निकालेर प्रहरीबाट छुटे ।
यसैगरी छुटेका नेकपानिकट शिक्षक संगठनका सल्लाहकार घोराही–१३, वनगाउँका वीरबल वलीले भने प्रहरीले बदनाम गर्न खोजेको आरोप लगाए । ‘लामो समयदेखि प्रहरी नियन्त्रणमा रहेकाले मेरो स्वास्थ्य अवस्था नाजुक छ । दाङ, रोल्पा, प्यूठान घुमाएर मलाई दुःख दिने काम भयो,’ ६७ दिन हिरासत बसेका उनले भने, ‘प्रहरीले पार्टी छाडेको राजीनामापत्रमार्फत बदनाम गर्न खोज्यो । विज्ञप्तिमा आएको सबै कुरा यथार्थ होइन ।’ लामो समय राजनीतिमा बिताएकाले यति सजिलै टाढिन नसकिने उनले बताए ।
‘विभिन्न रोगबाट ग्रस्त भएकाले अहिले प्रहरी हिरासतबाट मुक्ति पाउनु पहिलो आवश्यकता हो,’ उनले भने, ‘औषधि गर्न नपाउँदा मेरो स्वास्थ्य अवस्था दिनदिनै बिग्रँदै गएको छ । अहिले प्रहरीबाट छुटकारा पाउनैपर्ने अवस्था आएको हो । अरू कुरा आफैं बुझ्नुहोस् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।