एजेन्सी, ३० जेठ । हङकङमा प्रस्तावित नयां सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय सरकारले केही कार्यालयहरु बन्द गरेको छ । हङकङमा दशकयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भड्किएपछि केही सरकारी कार्यालयहरु बन्द गरिएको हो ।
बिहीवार प्रदर्शनकारीहरुले सरकारी कार्यालयलाई घेराबन्दी गरेका छन् भने बुधवार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि रवरका गोली र अश्रुग्यांस प्रहार गरेको थियो ।
हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयकको विरोधमा हजारौँ मानिस सडकका उत्रिएका छन् । प्रस्तावित विधेयकमाथि छलफल हुनु अघिको प्रदर्शन हिंसात्मक बनेको हो । विधेयकले हङकङका नागरिकलाई मुद्दाको पुर्पक्षको लागि चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गरेकोमा त्यसमा हङकङका नागरिक र व्यवसायीहरूले विरोध गरेका हुन् ।