हवाई टिकट खरीदमा भ्रष्टाचार गरेको अख्तियारको ठहर –
काठमाडौं, २९ जेठ । हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोएबसहित १० जनाविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०७४ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हजयात्रीका लागि हवाई टिकट खरिद प्रक्रियामा भ्रष्टाचार गरेको ठहरसहित आयोगले उनीहरुविरुद्द बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
हज कार्यसम्पादन उपसमितिका सदस्य अतावुल अन्सारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, हज समिति सचिवालयका सदस्य–सचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हिना ट्राभल्स एण्ड टुर्स प्रालिका दाउद हुसैनलाई पनि अयोगले विपक्षी बनाएको छ ।
मिलेमतोमा उनीहरुले कम अंक कबोल गर्ने ट्राभल्सको बोलपत्र स्वीकृत गरी ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आयोगले दायर गरेको अभियोगपत्रमा उल्लेख छ । १० जनाविरुद्ध अयोगले जनही ३८ लाख रुपैयाँ विगो माग गरेको छ ।