राष्ट्रपति नेपालगन्ज पुगेर फर्किन्, तर सडक जाम भएन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

राष्ट्रपति नेपालगन्ज पुगेर फर्किन्, तर सडक जाम भएन

bidhya devi bhandari

काठमाडौं, २७ जेठ । सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ । सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गरेकी छिन् । गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज गएकी थिइन् । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । उनी नियमित उडानमार्फत गइन् र २३ गते फर्किइन् । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।

भिआइपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरेर अन्य उडान रोक्ने गरिन्छ । जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन् । सुरक्षाका कारण नभई भिआइपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो । यसमा पनि सुधारको प्रयास भइरहेको विमानस्थलका एक अधिकारीले बताए । ‘भिआइपीको सुरक्षा कमान्ड सेनाले हेर्ने गर्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले भने, ‘सेनाको सिफारिसमा नोटाम जारी हुने हो । त्यसमा सुधार गर्न हामीले छलफल थालेका छौँ ।’

गत साता राष्ट्रपति नेपालगन्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो । आइतबार भोटोजात्राको कार्यक्रम भने औपचारिक भएकाले सडक दुईतर्फ नै खाली गरियो । ‘विगतको तुलनामा हामीले थोरै मात्र सडकमा असर गर्ने गरी व्यवस्था मिलाएका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने ।

शीतलनिवासभित्रै उद्घाटन 

अत्यन्त सामान्य कार्यक्रममा पनि राष्ट्रपति जाने र सडक अस्तव्यस्त बनाउने गरेको भनेर राष्ट्रपतिको चर्को आलोचना हुँदै आएको थियो । त्यसपछि केही कार्यक्रम शीतलनिवासभित्रै आयोजना गर्न थालिएको छ । आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने सम्मेलन पनि शीतलनिवासभित्रै उद्घाटन गरियो । राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार सामान्य कार्यक्रमा निस्कँदा सर्वसाधारणलाई सडकमा सास्ती हुन थालेपछि उद्घाटन कार्यक्रम शीतलनिवासभित्रै गर्न थालिएको हो । सुरक्षा निकायले समेत यस्तो सुझाब दिँदै आएका थिए ।

गत फागुनमा सैनिक दिवसका अवसरमा भद्रकाली पुगेकी राष्ट्रपति फर्कंदा लामो समय सडक खाली बनाएर सास्ती दिएको भन्दै सर्वसाधारणले सवारी अवज्ञा गरेका थिए । त्यसपछि पनि पटकपटक अवज्ञाको प्रयास भएपछि सुरक्षाकर्मीले सवारीको योजनामा परिवर्तन गरेर थोरै समय मात्र सडक खाली गराउन थालेका हुन् । ‘सवारीका कारण गणतन्त्रकै बदनाम भएको गुनासोपछि सुधार गरिएको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

 सडक जाम घटाउन शीतलनिवासमै उद्घाटन

त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित दुईदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आइतबारदेखि सुरु भएको छ । आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उद्घाटन भएको सम्मेलन कुपन्डोलस्थित हिमालय होटेलमा चलिरहेको छ । सम्मेलनको पहिलो दिन देश तथा विदेशका पाँच विज्ञले कार्यपत्र पेस गरेका छन् ।  आइतबार बिहान शीतलनिवासमा कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बजारमा आवश्यक जनशक्ति उत्पादनलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने बताइन् । उनले त्रिभुवन विश्वविद्यालयको गुणस्तरमा प्रश्न उठ्ने गरेकाले ध्यान दिन आग्रह गरिन् । विश्वविद्यालय अन्तर्राष्ट्रियकरण हुनुपर्ने, तर स्थानीय मूल्य–मान्यतालाई समेत आत्मसात् गर्नुपर्ने उनको भनाइ छ ।

उद्घाटन कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँले विश्वका अन्य विश्वविद्यालय र त्रिविको पाठ्यक्रममा केही दूरी भएकाले त्यसलाई कम गर्न तथा विश्वविद्यालयलाई अन्तर्राष्ट्रियकरण गर्न शैक्षिक सम्मेलन आयोजना गरेको बताए । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार, उद्यमशीलता र व्यवस्थापनसँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने बताए । सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, फिनल्यान्ड, भारत, सिंगापुर र जापानका विश्वविद्यालयका टोली सहभागी छन् । तीमध्ये १० जनाले विदेशी विद्वान्ले कार्यपत्र प्रस्तुत गर्दै छन् ।

त्रिभुवन विश्वविद्यालयले विश्वका एक सय ६० विदेशी विश्वविद्यालयसँग सहकार्य गर्दै आएको छ । सम्मेलनले विश्वविद्यालयका नीति–निर्माता, कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीमा त्यसको प्रभावलगायत विषयमा ज्ञान आदानप्रदान हुने अपेक्षा गरिएको छ । सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै त्रिविको नीति–निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी र प्राज्ञिक व्यक्ति लाभान्वित हुने उप्रेतीले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);