काठमाडौं, २६ जेठ । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले कार्ड वितरण कार्यको शुभारम्भ गर्नु भएको हो ।
एनआरएनएमा आवद्ध सदस्य तथा उनीहरुसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउन सो कार्ड वितरण कार्यको सुरुवात गरिएको अध्यक्ष भट्टले जानकारी दिनु भयो । सो कार्डको वितरणबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था पनि गर्न लागिएको एनआरएनले जनाएको छ ।
हाल एनआरएनएमा करिव ७० हजार सदस्यहरु आवद्ध रहेका छन । उनीहरुलाई सो कार्ड वितरण गर्दा जम्मा हुने रकम विपद् व्यवस्थापनका लागि तत्काल उपयोगमा ल्याउन सहज हुने पनि जानकारी दिइएको छ ।