दाङ रोल्पा, जेठ २१ । रोल्पाको रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयमा प्रार्थना सुरु हुँदै थियो । कक्षा ७ की विमला रोका घरको काम सकेर हतारहतार विद्यालय पुगिन् । नुहाएर राम्ररी कपाल पनि कोर्न भ्याएकी थिइनन् ।
उनलाई देखेपछि शिक्षिका लक्ष्मी पुनले किन कपाल नकोरेको भनेर लठ्ठी चलाउन थालिन् । अरू विद्यार्थी पनि आउने क्रम चलिरह्यो । पुनले ढिला आउनेलाई प्रश्न सोधिन् । जवाफ सुनिन् । र, एकोहोरो लौरो बर्साउन थालिन् । उपस्थित अन्य शिक्षक मूकदर्शक बने ।
शिक्षिकाको ‘लाठीचार्ज’ ले त्यो दिन विद्यालय परिसर आन्दोलनस्थल जस्तै बन्यो । शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते भए । प्रावि तहकी शिक्षिका पुनले पिटेका १४ मध्ये पाँच जनाको अवस्था गम्भीर थियो । उनीहरू दिनभर चोट सहेर कक्षामै बसे । ‘अन्धाधुन्ध लठ्ठीले पिट्नुभयो । हामी केही बोल्न सकेनौँ,’ पीडित विमलाले भनिन्, ‘हात दुखेर पढ्न सक्ने अवस्था थिएन ।’ साँझ घर पुग्दा हात सुन्निएको थियो ।
विद्यार्थी कुटेको खबर पाएपछि प्रधानाध्यापक झगबहादुर भण्डारी र व्यवस्थापन समिति अध्यक्ष हुमबहादुर पुन साँझ अभिभावकको घरघर पुगे । तालिममा गएकाले भण्डारी दिउँसो विद्यालयमा थिएनन् । विद्यार्थीको चोट देखेर उनी तर्सिए । उपचारका लागि अस्पताल लैजाने र भोलि छलफल गर्ने भन्दै उनी फर्किए । अर्को दिन अभिभावकले विद्यालय तालाबन्दी गरे । कुटपिटमा संलग्न शिक्षिकालाई सेवाबाट बर्खास्त र उपचार खर्च उनैले बेहोर्ने मौखिक सहमतिपछि ताला खुल्यो ।
विद्यालय खुले पनि चित्त नबुझेका अभिभावकले इलाका प्रहरी होलेरीमा उजुरी दिए । प्रहरीले दुवै पक्षलाई छलफलमा बोलायो । छलफलमा राम्रोसँग उपचार गराउने, खर्च शिक्षिकाले बेहोर्ने, शिक्षिकालाई स्पष्टीकरण सोध्ने र चित्त नबुझे थप कारबाही गर्ने सहमति भयो । ‘स्थानीयस्तरमा राम्रो स्वास्थ्य सेवा नभएकाले तुलसीपुर पठाइएको हो,’ प्रधानाध्यापक भण्डारीले भने, ‘शिक्षिकालाई कारबाही थालिएको छैन । सबैको सल्लाहअनुसार के गर्ने भन्ने निर्णयमा पुगौँला ।’ शिक्षिकाले विद्यार्थी कुटेको स्विकारेको र उपचार पनि उनैले गरेकाले केही समय पर्खिएको उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।




