काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसुची २ मा त्रुटी भएको भन्दै अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद रिजालले बजेट वक्तव्यको बुँदा नम्बर २ सय ९५ मा कर प्राणालीमा संरचनात्मक परिर्वतन गरि भन्ने विषय अन्र्तगतका ख, घ र ङ मा उल्लेख भएका विषयसंग जोडिएको अनुसुची २ मा राजश्व संकलन जोडिनुपर्नेमा घटाउने काम भएको भन्दै त्रुटी सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले भन्नुभयो “कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ५५ अर्ब ५९ करोड रुपैयाँ थप आउँछ भनि लेखिएको छ । बर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनुपर्ने हो । वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुन्छ भन्नुहुन्छ । यसरी जोड्ने हो भने त्यो भन्दा अगाडिको कोलममा जोड्ने सट्टा घटाएर २०७६/७७ को लक्षमा ११ खर्ब १२ अर्ब राखिएको छ । नयाँ संरचना परिवर्तनबाट कर थपिने हो कि घट्ने हो ? नयाँ परिवर्तनबाट थपिने हो भने जोडिनुपथ्र्यो । कर परिर्वतन र प्रशासनिक सुधार वर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनुपर्ने हो । ”
उहाँले बजेट पुस्तिकाको यो त्रुटी सामान्य त्रुटी नभएको जिकिर गर्नुभयो । राजश्वको अनुमान ठिक नभएको अवस्थामा बजेटमाथिको छलफल गर्नु अध्याँरोमा कुरा गर्या जस्तो मात्रै हुने उहाँको तर्क थियो ।
उहाँले भन्नुभयो “हामीले करका दर परिर्वतन गरेर राजश्व घटाउँदै छौ कि बढाउँदै छौ ? अर्थमन्त्री ज्युबाट त्यो जानकारी आवश्यक छ । राजनीतिक भवितव्यको सन्त्रासमा बजेटका तालिकाहरु र अनुसूचीहरु पनि भवितव्यमा परेका छन् । भवितव्यमा नपरोस् । राजनीतिक सन्त्रास नलिने परिस्थिति बनोस् ।”
सांसद रिजालले सोमबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेटमाथिको छलफल सुरु हुनु अगावै सभामुखसंग समय मागेर बोल्दै बजेट पुस्तिकामा भएको त्रुटीबारे ध्यानाकर्षण गराउनुभएको हो ।