विराटनगर, २० जेठ । कोइराला निवासबाट सरकारले सुरक्षाकर्मीको युनिट हटाएको छ । मातृका, बीपी र गिरिजाप्रसाद कोइरालालगायत देशलाई विभिन्न समय तीन प्रधानमन्त्री दिने निवासलाई दुई दशकदेखि सशस्त्र प्रहरीको एक टुकडीले सुरक्षा दिँदै आएको थियो ।
सशस्त्र द्वन्द्वका बेला २०५४ मा निवासको पश्चिम क्षेत्रमा सुतली बम विस्फोट गराइएको घटनापछि सशस्त्र प्रहरीले सुरक्षा दिन थालेको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको इतिहासको धरोहरका रूपमा रहेको कोइराला निवासबाट सुरक्षाकर्मीलाई हटाउनु उचित नभएको मोरङ कांग्रेस सचिव नागेश कोइरालाले बताए ।
कांग्रेसलाई शृंखलाबद्ध रूपमा प्रहारको एउटा पाटोका रूपमा निवासबाट सुरक्षा युनिट हटाउनु पनि रहेको आरोप उनको छ । ‘सरकारको यो प्रकरण कांग्रेसमाथिको नियोजित प्रहार हो,’ उनले भने । सुरक्षा युनिट फिर्ताको निर्णयबारे स्थानीय प्रहरी–प्रशासनले भने अनभिज्ञता जनाएका छन् ।
‘स्थानीय प्रशासनले सशस्त्र प्रहरीको टुकडीलाई हटाएको होइन,’ मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भने, ‘गृह मन्त्रालयले हटाएको होला । यसबारे हामीलाई केही पनि थाहा छैन ।’ उनले स्थानीयस्तरबाट कोइराला निवासको सुरक्षार्थ प्रहरीको पिकेट परिचालन गर्ने तयारी गरेको जनाए ।
सशस्त्र प्रहरीको असईको नेतृत्वमा १४ जनाले निवासको सुरक्षा गर्दै आएका थिए । निवासकी सहयोगी लक्ष्मी सुवेदीले भनिन्, ‘गएको बिहीबार सशस्त्र प्रहरी सरकारले फिर्ता बोलाएको भन्दै सामान लिएर हिंडेपछि निवास सुरक्षाविहीन भएको छ ।’
यो निवासलाई कांग्रेस र अन्य राजनीतिक दलका नेतारकार्यकर्ताले ऐतिहासिक धरोहरका रूपमा लिँदै आएका छन् । यही निवासबाट पिताजी कृष्णप्रसाद कोइरालाले तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणालाई नेपाली जनताको वास्तविक अवस्था देखाउन फाटेको भोटोको पार्सल गरेर पठाएको र प्रजातान्त्रिक आन्दोलनको सुरुवात गरेको मानिन्छ ।
पिताजीका तीनवटै छोरा विश्वेश्वर, मातृका र गिरिजाप्रसाद प्रधानमन्त्री भएका थिए । सशस्त्र प्रहरीको युनिट हटाइएपछि निवासमा हाल सुरक्षाका लागि कोइराला परिवारका सहयोगी लक्ष्मीसहित चार जना बस्दै आएका छन् । ‘निवासका कुनै पनि कोठामा कहिल्यै साँचो लाग्दैनथ्यो । लक्ष्मीले भनिन्, ‘प्रहरी हटाएपछि आमा नोना, गिरिजाबाबु र अहिले शेखर कोइरालाले प्रयोग गर्ने कोठामा साँचो लगाइएको छ ।’
निवास कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रयोग गर्दै आएका छन् । कांग्रेसका कतिपय नेताहरू विराटनगर आउँदा यही निवासमा अझै पनि बस्ने गर्छन् । मुलुकका विभिन्न भागबाट विराटनगर घुम्न र शैक्षिक भ्रमणमा आउने टोली एकपटक यो निवासमा पुगेकै हुन्छन् ।
पिताजी कृष्णप्रसादको नासोका रूपमा मानिएको निवास र यसको जग्गाजमिन नोना र गिरिजाप्रसादको निधनपछि पारिवारिक अंशबण्डाका कारण पहिलेभन्दा केही खुम्चिएको छ । निवासको दक्षिणपट्टि रहेको आफ्नो भागमा परेको ८ कट्ठा जमिन बीपीका सन्तानप्रकाश, शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेपछि तिनमा अहिले व्यापारिक भवन निर्माण गरिएका छन् ।
निवासको उत्तरपट्टिको जमिन तारिणीप्रसाद कोइरालाको भागमा परेको छ । पूर्वपट्टिको जमिन गिरिजाप्रसादकी छोरी सुजाताको भागमा परेको छ । आफ्नो भागको जग्गामा उनले भवन निर्माण गर्न लगाएर जीपी फाउन्डेसनको कार्यालय राखेकी छन् । पुरानो निवासको स्वामित्व हाल केशव–नोनापुत्र डा। शेखर र नीरञ्जनको नाममा छ ।
कोइराला निवास संग्रहालय जस्तो छ । घुम्न पुग्नेहरूका लागि सधैँ खुला छ । सुरक्षा युनिट फिर्ता गर्न गृह मन्त्रालयको पत्र आएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । ‘दिवंगत उच्चपदस्थका घरबाट सेक्युरिटी युनिट फिर्ता बोलाएर नियमित काममा लगाउनु भन्ने परिपत्र छ,’ उनले भने, ‘त्यसअनुसार अरू ठाउँमा पनि हामीले सुरक्षा दिएका युनिटलाई व्यवस्थापन गर्दै लैजान्छौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।