एजेन्सी, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी शुक्रबार तोकिएको छ । कार्यबिभाजन अनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ सिंहले सम्हालेका थिए । शाहलाई पहिलो पटक मन्त्री बनाइएको हो । उनी भारतीय जनता पार्टीको अध्यक्षसमेत रहेका छन ।
यसअघि गृह मन्त्रालय सम्हालेका राजनाथ सिंहलाई भने यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी निर्मला सीतारमणलाई दोस्रो कार्यकालमा अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नितिन गडकरीलाई सडक परिवहन मन्त्री बनाइएको छ । रमेश पोखरियाललाई मानव संशाधन मन्त्रालय, हर्षवर्धनलाई स्वास्थ्य, विज्ञान मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानीलाई महिला एवं बाल विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
लोकसभा निर्वाचनमा सहभागी नभई गैर राजनीतिक पृष्ठभूमिबाट मन्त्री बनाइएका एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी भारतीय विदेश मन्त्रालयका पूर्व सचिव हुन् ।