काठमाडौं, १६ जेठ । कतार भिसा सेन्टर (क्युभिसी) ले बुधबारबाट नेपालमा सेवा सुरु गरेको छ । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र कतार भिसा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलिफा अल मोहन्नदीले बुधबार साँझ काठमाडौं महानगरपालिका-४ महाराजगन्जमा रहेको भिसा सेन्टर उद्घाटन गरे ।
औपचारिक सेवा सुरू भएसँगै कतार रोजगारीमा जाने कामदारको सम्पूर्ण प्रक्रिया अब नेपालमै पूरा हुने भएको छ । अब रोजगारीमा जाने कामदारले भिसा, स्वास्थ्य परीक्षण, कामदारको औँठा छाप, कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका काम सेवा यही सेन्टरबाट पाउनेछन् । यस्तै, कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पनि यहीँ पूरा हुने बताइएको छ । यी प्रक्रिया पूरा भएपछि कतार पुगेलगत्तै नेपाली कामदारले कतारमा परिचयपत्र पाउने जानकारी दिइएको छ । कतारले बंगलादेश, पाकिस्तान र श्रीलंकालगायतका देशमा यस्ता सेन्टर सञ्चालन गरिसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।