गण र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमको रकम अनियमिता गरेको ठहर
काठमाडौं, ११ जेठ । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्की भ्रष्टाचारको अभियोगमा पदबाट बर्खास्त भएका छन् । सेनाको गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि कार्कीलाई सैनिक अदालतले पदबाट बर्खास्त गरेको हो ।
कार्कीलाई सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला समेत गरेको नेपाली सेनाले जनाएको छ । त्यसैगरी कार्कीलाई शुक्रबार राति नै जेल चलान गरिएको छ ।
कार्कीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र कालिसिद्धी गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको अदालतले ठहर गरेको छ । कार्की विरुद्ध राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको भन्दै गत वैशाख २ गते उजुरी परेको थियो । कार्की उदयपुरस्थित सेनाको कालिसिद्धि गणका गणपति थिए ।