संविधान बनाएको भन्दै सभासद्लाई पदक | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

संविधान बनाएको भन्दै सभासद्लाई पदक

sanghiya samsadh

काठमाडौं, ११ जेठ । संविधानसभाबाट संविधान बनाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सभासद्हरूलाई संविधानसभा पदक दिनुहुने भएको छ।

राष्ट्रपति भण्डारीले आगामी बिहीबार राष्ट्रपति कार्यालयमा उहाँहरूलाई संविधानसभा पदकबाट विभूषित गर्नुहुनेछ। २०६४ साल र २०७० सालमा भएका संविधानसभाका सांसदहरूलाई वितरण गर्न लागिएको पदक लिनका लागि अलगअलग समय छुट्याइएको छ। गृह मन्त्रालयको विभूषण शाखामा परिचयपत्रसहित सम्पर्क गरी प्रवेशपत्र लिन पनि गृह मन्त्रालयले बुधबार सूचना जारी गरेको छ।

मन्त्रालयद्वारा प्रकाशित सूचनामा ३ नम्बर पोसाकमा सभासद्हरूलाई उपस्थित हुन भनिएको छ। प्रवेशपत्र लिनका लागि बिहीबारबाट मंगलबारसम्मको समय तोकिएको छ। २०७० सालमा दाङ–४ बाट निर्वाचित सभासद् बुद्धिराम भण्डारीले जिल्ला प्रशासन कार्यालयबाट आफूलाई फोन गरी गृह मन्त्रालयमा सम्पर्क गर्न भनिएको बताउनुभयो।

‘खोइ के दिने हो थाहा छैन, गृहमै गएपछि थाहा पाइएला’, शुक्रबार नेपाली कांग्रेसको संसदीय दलमा भेटिनुभएका भण्डारीले भन्नुभयो– ‘जे भए पनि संविधान बनाएबापत एउटा सम्मानचाहिँ पाइने भइयो, यो पनि खुसीको कुरा हो।’

त्यस्तै २०७० सालको संविधानसभामा समानुपातिक प्रतिनिधित्व गर्नुभएका तत्कालीन एमालेका सभासद् चूडामणि जंगलीले पनि राष्ट्रले गर्न लागेको सम्मानको स्वागत गर्नुभएको छ। शुक्रबार नै प्रवेशपत्र लिएर आउनुभएका उहाँले संसद सचिवालयको सञ्चार तथा सूचना शाखामा पुगेर संविधानसभा सदस्यको कार्ड पनि बनाउनुभएको छ। सुशोभन समारोहमा जंगलीलाई बिहान सवा ७ बजेभित्र पुगिसक्न भनिएको छ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);