एजेन्सी, ८ जेठ । इण्डोनेशियामा हालै भएको राष्ट्रपति निर्वाचनको परिणाम बाहिरिएसँगै शुरु भएको हिंसामा परी ६ जनाको ज्यान गएको छ । गत अप्रिल १७ मा भएको निर्वाचनको नतिजा सोमवार बाहिरिएसँगै इण्डोनेशियामा हिंसा मच्चेको हो ।
नतिजामा वर्तमान राष्ट्रपति जोको ‘जोकोवी’ विडोडो विजयी भएको जनाइएपछि उनका प्रतिद्वन्द्वी प्राबोवो सुबियान्तोका समर्थकले धाँधली भएको भन्दै राजधानी जकार्तामा प्रदर्शन गरेका हुन । प्रदर्शनकारीले पेट्रोल बम, ढुङ्गामुढा प्रहार गरी ठाउँठाउँमा आगजनी गरेका थिए ।
जवाफमा प्रहरीले अश्रुग्याँस, रबरको गोली तथा पानीको फोहोरा प्रहार गरेको थियो । मंगलवार रातीबाट भएको झडपमा ६ जनाको मृत्यु भएको हो । मंगलवार र बुधवार भएको झडपमा अन्य २ सय जना भन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मतपरिणाम अनुसार राष्ट्रपति विडोडोले ५५दशमलव ५ प्रतिशत मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी सुबियान्तोले ४४दशमलव ५ प्रतिशत मत प्राप्त गरेका छन् ।
निर्वाचनको परिणाम बाहिरिए पनि सुबियान्तोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका थिएनन् । उनले मुलुकका पाँच प्रान्तमा भएका मतदानमा धाँधली भएको भन्दै पुनः मतदान गराउनुपर्ने अडान लिएका छन् ।