काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको हो । उहाँले सो विधेयक सरकारले तत्काल फिर्ता नलिए आफ्नो पार्टीले अघि बढाउन नदिने चेतावनी पनि दिनु भयो ।
सचेतक भुसालले सरकारले संसदमा पेश गरेको सो विधेयक मुलुकको लोकतन्त्रले नचिन्ने र आफूहरुले नबुझ्ने भएकाले त्यसलाई सरकारले संसदबाट फिर्ता गराउनुको विकल्प नरहेको तर्क पनि गर्नु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भय र त्रासको वातावरणमा प्रवेश गराउने गरी आएको सो विधेयक आफ्नो पार्टीलाई स्विकार्य नहुने उल्लेख गर्नुभयो ।
भुषालले सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउने खोजेको आरोप लगाउनुभयो ।