एजेन्सी, ६ जेठ । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेसँग गर्दै आएको प्राविधिक कारोबार रोक्ने भएको छ । गुगलको यो निर्णयसँगै विश्वको तेस्रो ठूलो स्मार्ट फोन निर्माता हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न पाउने छैन।
अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेपछि गुगलले यस्तो निर्णय गरेको हो । ट्रम्प प्रशासनले अमेरिकी कम्पनीसँग कारोबार गर्न हुवावेले लाइसेन्स लिनु पर्ने सर्त राखेको छ।
गुगलले विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारको निर्देशनको पालना गरेर त्यसको कार्यान्वयनको समीक्षा गरिरहेको जनाएको छ । हुवावेले गुगलको पछिल्लो निर्णयबारे कुनै प्रतिक्रिया दिएको छैन ।
गुगलको यस्तो निर्णयपछि हुवावेका अहिलेका प्रयोगकर्ताले गुगल प्ले, जिमेल, म्याप, युट्युब लगायत एप प्रयोग गर्न पाउने छन् । तर त्यसमा नयाँ र सुरक्षा अपडेट भने गर्न मिल्ने छैन । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा अपडेट गर्न नमिल्ने भएपछि चीनबाहिरका हुवावे प्रयोगकर्तालाई समस्या हुने देखिएको छ ।