काठमाडौं, ५ जेठ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले समितिमा अनिवार्य उपस्थितिका लागि सबै सदस्यहरुलाई निर्देशन दिनुभएको छ । समितिका छलफल तथा बैठकहरुमा सदस्यहरु अनुपस्थित हुन थालेपछि सभापति घर्तीले सक्रिय सहभागीता जनाउन निर्देशन दिनुभएको हो ।
आईतबार समितिको बार्षिक प्रतिवेदनको मस्यौदा माथिको छलफलमा पनि सदस्यहरु अनुपस्थित भएपछि सभापति घर्तीले सक्रिय उपस्थितिको लागि निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो “समिति भनेको मिनी संसद हो । मिनी संसदमा सक्रियतापुर्वक आफ्नो उपस्थिति र भाग लिने र टाईमलाई म्यानेज गर्ने कुरालाई म सबै माननियज्यूलाई विनम्र अनुरोध गर्दछु ।”
बैठकमा समिति सदस्य योगेश भट्टराईले कारवाही महत्वहिन र प्रभावकारी नदेखेर समितिका बैठकमा अनुपस्थित भएको हो भने थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
आईतबारको बैठकमा समितिको बार्षिक प्रतिवेदनको मस्यौदामाथिको छलफल गर्ने कार्यसूची थियो । छलफलमा सहभागी सदस्यहरु खगराज अधिकारी, मान बहादुर विक, उमाकान्त चौधरी, चित्रलेखा यादव, उमेश श्रेष्ठ लगायतले निर्देशन कार्यान्वय गर्ने र नगर्नेहरुको नाम नै किटानीका साथ उल्लेख गर्नुपर्नेमा जोड दिएका थिए ।




