काठमाडौं, २९ बैशाख । समाजवादी पार्टीका संघीय अध्यक्ष एबं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै पुर्व प्रधानमन्त्री भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयमले आफैमाथि न्याय नगरेको बताउनुभयो । उहाँले बजेटका सिद्धान्त र प्राथमिकता अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामा बैचारिक अलमल र अस्पष्टता रहेको टिप्पणी गर्नुभयो ।
भट्टराईले सामाजिक न्याय सहितको तिब्र आर्थिक वृद्धि सहित आत्मनिर्भर भई सन् २०३० अगावै दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य राम्रो भएपनि त्यसको आधार स्पष्ट नभएको बताउनुभयो । बैठकमा नेकपाका सांसद सुरेन्द्र पाण्डेले भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै प्रतिवाद गर्नुभयो । पाण्डेले आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्र्दभिक नभएको दाबी गर्नुभयो ।
सरकारले भोटको राजनीति गरेको नेपाली कांग्रेसको आरोप
छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई राजनीतिक आग्रह र पुर्वाग्रहबाट मुक्त हुन सुझाव दिनुभयो । कार्कीले सरकारले यत्रतत्र जथाभावी कनिका जसरी बजेट छरेर भोटको राजनीतिलाई सुरक्षा गर्ने अस्त्रको रुपमा लिएको भन्दै त्यसो नगर्न ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि बजेट तर्जुमा गर्ने ,कृषि उत्पादनमा वृद्धि , आयात निरुत्साहीत र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानी मैत्री बनाउने भनिएपछि प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा जोड दिनुभयो ।