जाजरकोट, २८ बैशाख । २०६६ सालमा जाजरकोटका केही दुर्गम गाउँमा देखिएको झाडापखाला समयमै नियन्त्रण गर्न नसक्दा त्यसले महामारीकै रूप लियो। जिल्लाका करिब ५० हजार मानिस प्रभावित भए। १ सय ५३ जनाको ज्यान गयो। महामारी जाजरकोटमा मात्र सीमित रहेन। मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्ला रुकुम, कालिकोट, दैलेख, अछामलगायत जिल्ला प्रभावित भए। महामारी नियन्त्रणमा लिन करिब पाँच महिना लाग्यो।
त्यति बेला स्वास्थ्य सेवा विभागका महानिर्देशकदेखि स्वास्थ्य सचिव हुँदै स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीले समेत महामारी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। जनचेतना र सरसफाइको कमी एवं स्वास्थ्य सेवाको सहज पहुँच नुहँदा महामारी फैलिएको निष्कर्षसहित स्वास्थ्य सेवाको पहुँच बढाउने आश्वासन दिई उनीहरू फर्किए। तर समस्या ज्यूँको त्यूँ रह्यो।
२०७१ चैत र २०७२ वैशाखमा पुनः जाजरकोटमै सिजनल फ्लु फैलियो। यसबाट २७ जनाको मृत्यु भयो। यसमा पनि पुरानै नियति दोहोरियो— नेता र मन्त्री आउने आश्वासन बाँड्ने तर कार्यान्वयन कहिल्यै नहुने। २०७४ माघमा जिल्लाको जुनीचाँदेमा फैलिएको रुघाखोकीबाट १२ जनाको मृत्यु भयो। सयौं बिरामी परे। समयमै उपचार गरिएका कारण थप क्षति हुन भने पाएन।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।





