काठमाडौं, १९ बैशाख । काठमाडौंमा सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सार्क क्षेत्रको आर्थिक विकासमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यका साथ सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको ७७ औं कार्यकारिणी समितिको बैठक बिहीबारबाट काठमाडौंको चन्द्रागिरीमा सुरु भएको हो ।
२ दिनसम्म चल्ने बैठकको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्नु भएको थियो । सार्क क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रका उद्योगी÷व्यवसायीहरुले कसरी मिलेर अघि बढ्ने भन्ने विषयमा केन्द्रित भएर सो बैठक सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनु भयो । बैठकमा सार्क राष्ट्रका उद्योगीहरुले क्षेत्रीय सम्भावना र त्यसको विकासका लागि संयुक्त लगानी गर्ने विषयमा पनि विस्तृत छलफल गर्नेछन् ।
कार्यक्रममा बोल्दै सभामुख महराले सार्क क्षेत्रका जनताको जीवनस्तर उठाउने गरी सहकार्य गरेर अघि बढन उद्योगी/व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले सार्कमा ठूल्ठूला सम्भावना भएपनि त्यसको विकास गरेर आर्थिक प्रगति गर्न सदस्य राष्ट्रका उद्योगीहरुबीच सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । बैठकमा सार्क राष्ट्रका उद्योगी/व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको छ ।




