एजेन्सी, १४ बैशाख । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा हडर्ल्सफिल्ड टाउन माथी जित निकाल्दै लिभरपुल पुनः शीर्षस्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले रेलिगेशनमा पर्ने पक्का भएको पुछारको टिम हडर्ल्सफिल्ड टाउनलाई ५–० ले हराएको हो ।
लिभरपुलका जितमा साडिओ माने र मोहम्मद सालहले दुई–दुई गोल गरे । यस्तै नेबी केइटाले एक गोल गरे । पहिलो मिनेटमा नै केइटाको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । २३ औँ मिनेटमा मानेले गोल गर्दै अग्रता दोब्बर पारे ।
४५ औँ मिनेटमा सालहले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–० को अग्रता लियो ।दोस्रो हाफमा थप दुई गोल भयो । मानेले ६६ औँ तथा सालहले ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ५–० को जित निश्चित गर्दै शीर्षस्थानको यात्रा तय गरेको हो ।
जितपछि लिभरपुलको ३६ खेलबाट ९१ अंक भएको छ । दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३५ खेलबाट ८९ अंक छ ।