एजेन्सी, ७ बैशाख । वर्षौसम्म सन्तानलाई भोकमरीको अवस्थामा राखेको तथा शारीरिक एवम् मानसिक यातना दिएका अमेरिकाको क्यालिफोर्नियाका दुई अभिभावकलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । उनीहरुलाई छोराछोरीले भने माफी दिएका छन् ।
डेविड र लुइज टर्पिनका छोराछोरीले अदालतमा आफूहरुले अझै पनि आमा र बुवालाई माया गरेको अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।डेविड र लुइज सन् २०१८ को जनवरीमा पक्राउ परेका थिए ।
१७ वर्षकी छोरी क्यालिफोर्नियाको पेरिसमा रहेको घरबाट भाग्न सफल भएपछि दम्पती पक्राउ परेका हुन् । उनीहरुले पछिल्लो ९ वर्षदेखि आफ्ना १३ सन्तानलाई यातना दिँदै आएका थिए । शुक्रबारको सुनुवाईको क्रममा चार सन्तानको बयान सुनाइएको थियो ।