छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु

purba ladaku

काठमाडौं, ७ बैशाख । छोराछोरी पढाउन सहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फिर्ने निष्कर्षमा पुगेका हुन् । सरकारले वैशाख २ देखि १६ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान घोषणा गरेको छ ।

प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, जनप्रतिनिधि, शिक्षासेवीले अभिभावकत्व ग्रहण गरेर असहाय बालबालिकालाई गत वर्षदेखि नै विद्यालयमा भर्ना गराएका छन् । तर ‘पाटन’ उपनामले परिचित पूर्वलडाकु जैसीको न छोराछोरी विद्यालय भर्ना गराउने सामर्थ्य छ, न त अभिभावकत्व लिइदिने कुनै भरपर्दा सहयोगी भेटेका छन् । त्यसैले उनी शैक्षिक सत्रको सुरुदेखि सिंहदरबारमा विभिन्न मन्क्रालय धाइरहेका छन् । शुत्रबार दिउँसो शिक्षा मन्त्रालयमा भेटिएका उनले भने, ‘छोराछोरी पढाउन नसकिने भइयो, गाउँ फर्कन लागेको छु ।’ गाउँ फिरे पनि छोराछोरी पढाउने योजना भने छैन । घरबाट टाढा छ स्कुल ।

एक छोरा र दुई छोरीको खर्च धान्नै मुस्किल परेपछि उनी कामको खोजीमा परिवारसहित गत जेठमा काठमाडौं आएका थिए । गतवर्ष ८ वर्षे छोरा प्रकाशलाई कक्षा एकमा भर्ना गराए । ६ र ४ वर्षे छोरीहरू प्रतिमा र सुनितालाई मैनमैजु मावि काठमाडौंमा नर्सरीमा भर्ना गरे । विद्यालय र शिक्षकहरूले सहयोग गरे पनि उनलाई खर्च धान्न धौधौ पर्‍यो । ३ वटै छोराछोरी यसपालि कक्षा चढे । नयाँ कक्षामा भर्ना गर्न र उनीहरूलाई निरन्तर विद्यालय पढाउन उनीसँग खर्च छैन ।

माओवादी ‘जनयुद्ध’ मा सामेल हुँदा लागेको गोलीले दाहिने खुट्टा राम्रो गरी टेकिँदैन । श्रीमती निर्मलाको मजदुरीले कोठा खर्च पनि धान्दैन । ‘६ हजार त कोठा भाडा नै तिर्नुपर्छ, यहाँ पानी पनि किन्नुपर्ने रहेछ,’ उनले भने, ‘मेरो बाल्यकाल पनि गाई, बाख्रा चराएर बित्यो, अब गाउँ फर्केपछि छोराछोरीको हाल पनि मेरोजस्तै हुने भयो ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।