बटुकनाथ झा
धनुषा, २ बैशाख । प्रदेश–२ को मन्त्री परिषद्को कार्यालय नजिक जनकपुर चुरोट कारखाना लिमिटेडको बोर्ड झुन्ड्याएपछि प्रदेश सरकार र केन्द्र सरकार बीच विवाद चुलिएको छ । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको आवास तथा कार्यालयमा अहिले प्रदेश सरकारको विभिन्न मन्त्रालय रहेको छ ।
बन्द रहेको जनकपुर चुरोट कारखानाको विषयले अहिले केन्द्र सरकार र प्रदेश–२ सरकारबीच विवाद चुलिएको छ । जनकपुर चुरोट कारखानाको भवन क्षेत्रमा प्रदेश २ को मन्त्रीपरिषद् कार्यालय राखेपछि बढेको विवाद अहिले भुसको आगो झैं बढ्दै बाहिरै देखिएको छ ।
मन्त्रीपरिषद कार्यालय नजिक जनकपुर चुरोट कारखाना लिमिटेडले बोर्ड राखेपछि प्रदेश सरकार र केन्द्र सरकारबीचको विवाद बाहिरिएको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारको कार्य सञ्चालनको लागि जनकपुर चुरोट कारखाना लिमिटेडको क्षेत्र प्रदेश २ सरकारलाई दिएको थियो ।
अहिले कारखानामा प्रदेश सरकारका मन्त्रालयहरु सञ्चालनमा छन् । तर अहिले आएर प्रदेश सरकारलाई जानकारी नै नदिई मन्त्रिपरिषद्को कार्यालयको बोर्ड नजिक कारखानाको बोर्ड झुन्ड्याइएको छ । विवाद बढेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कुनै शक्तिले अब प्रदेश कार्यालय रहेको क्षेत्र खाली गर्न नसक्ने बताउँछन् ।
दुई महिना पहिला मात्र जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले प्रदेश नं. २ को सरकार जनकपुर चुरोट कारखाना कब्जा गर्न लागेको आरोप लगाएका थिए ।
आपूर्ति मन्त्रालयले जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालन गर्न आन्तरिक गृहकार्य गरिहरेको छ । कारखानाबाट बोर्ड समेत हटाई केन्द्र सरकारसँग नसोधीकन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय स्थापना गरेकोप्रति आपूर्ति मन्त्री यादवले असन्तुष्टि जनाए ।
चुरोटसहित सूर्तिजन्य पदार्थको सेवनका कारण क्यान्सर जस्ता दीर्घकालिन रोग लागेको भन्दै त्यसविरुद्ध विश्वव्यापी अभियान चलेको र कारखाना पनि वर्षेनी घाटामा जान थालेपछि सरकारले जनकपुुर चुरोट कारखाना बन्द गरेको थियो ।
त्यही बन्द रहेको कारखाना क्षेत्रमा प्रदेश २ सरकारको मन्त्रीपरिषद कार्यालय संचालन हुँदै आएको छ । अहिले फेरी कारखाना चलाउने भन्दै प्रदेश सरकारको मन्त्रिपरिषदको कार्यालय नजिक जचुकालिको बोर्ड झुण्डाइएको छ । जसले प्रदेश र केन्द्र सरकारबीच विवाद बढाउने संकेत दिनदिनै बढेको छ ।