वैशाख १ मा फक्रिने फूल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

वैशाख १ मा फक्रिने फूल

baisakh 1 gatey falne ful

सिरहा, १ बैशाख । सल्हेस फूलबारीको मध्यभागमा हारमका दुइटा रूख छन्। यसमा रहेको चाँदीगाभा (सुनाखरी) वैशाख १ गते ढकमक्क फुल्छ। फूल हेर्न नयाँ वर्षमा घुइँचो लाग्छ। यो ठाउँ पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ भोटिया टोल चोकबाट डेढ किलोमिटर दक्षिणमा पर्छ।

हारमका रूखनजिकै प्रतिमासहित मालिनी मन्दिर छ। त्यसको ५० मिटर दक्षिणमा सल्हेस मन्दिर छ। यहाँको कथा १४औं शताब्दीका राजा सल्हेस र उनका प्रेमिका मालिनीहरू (रेशमा, कुशमा र दौना) बीचको सम्बन्धसँग जोडिएको छ। त्यस बेला सिरहा सदरमुकामलाई महिसोथा गढ राज्य भनिन्थ्यो। यहींका राजा थिए, सल्हेस। किंवदन्तीअनुसार उनी मानिक दहमा स्नान गर्थे। फूलबारीमा फूल लिन्थे। सिल्हट अखडामा कुस्ती खेल्थे। सल्हेस गढमा गएर देवीदेवताको पूजा गर्थे।

फूलबारी मालिनीहरूको थियो। उनीहरू तत्कालीन मोरङ राज्यका हिनपैत माइलका छोरी थिए। फूलबारीनजिकै सल्हेसले कुस्ती खेल्ने अखडा थियो। मालिनीहरूले सल्हेसलाई दैनिक फूल चढाउँथे। त्यही क्रममा उनीहरूले एकतर्फी प्रेम गर्न थालेको कथन छ। बिहे भए÷नभएको विषयमा कतै उल्लेख पाइँदैन। फूल अर्पण गर्ने दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख १ गते सुनाखरी फुल्ने गरेको किंवदन्ती छ। यही फूल मालिनीहरूले सल्हेसलाई दिन्थे रे।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।