हरेक प्रहर रङ्ग फेर्दै अलौलिक दृष्य देखाउने झिलमिला ताल ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

हरेक प्रहर रङ्ग फेर्दै अलौलिक दृष्य देखाउने झिलमिला ताल ओझेलमा

jhilmila tal

पुष्कर भट्ट

कञ्चनपुर, २४ चैत ।  कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे पहाडमा घना जङ्गलको बीचमा रहेको सफा सुन्दर झिलमिला ताल ओझेलमा परेको छ । हरेक प्रहर रङ्ग फेर्दै आफ्नो अलौलिक दृष्य देखाउने बिचित्रको झिलमिला ताल उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे पहाड महाभारत पर्वत श्रृंखलाको कान्छो पहाडको मध्य भागमा रहेको छ सुन्दर झिलमिला ताल । चारैतिर घना जङ्गलको बीचमा सफा सुन्दर र हरेक प्रहर फरक रङको आफ्नो अलौलिक दृष्य देखाउने बिचित्रको झिलमिला ताल उचित प्रचार प्रसार नहुँदा अहिले ओझेलमा परेको हो । तालको चारै तिर देवीदेवताका प्रतिमाहरु छन् । पौराणिक महत्व बोकेको झिलमिला ताल भ्रमणको लागि जिल्ला वरिपरिका लगायत भारतबाट समेत पर्यटकहरु आउने गरेका छन् ।

झिलमिला तालको दर्शनपछि मनोकामना पुरा हुने विश्वासले नेपाल तथा भारतका विभिन्न स्थानबाट धार्मिक पर्यटकहरु आउने गर्दछन् । झिलमिला तालले प्राकृतिक र धार्मिक दुबै महत्व बोकेको स्थानीयहरुको भनाई छ ।

झिलमिला ताल सुन्दर र मनमोहक त छ तर यो तालको सुन्दरताले मात्रै भने पर्याप्त पर्यटकहरु भित्र्याउन सकेको छैन । तालको उचित प्रचार प्रसार र प्रवद्र्धनको अभावमा तालमा अपेक्षा गरे जति पर्यटक आउन नसकेको झिलमिला संरक्षण विकास समितिले जनाएको छ ।

झिलमिला तालमा बिहान, दिउँसो र साँझ तीन पटक पानीको रङ फेरिने गर्छ । बिहान सुनहरा, दिउँसो निलो र साँझ हरियो रङमा ताललाई देख्न सकिन्छ । दैनिक रङ फेरिने भएकाले यसको नाम झिलमिला राखिएको किम्बदन्ती रहेको विश्वास गरिन्छ । तालमा जुगेँ माछाहरुको बास रहेको छ । ताल समुद्री सतहबाट छ सय ८० मिटर उचाईमा र डेढ किलोमिटर लम्बाईको ताल चार बिगाहामा फैलिएको छ । १७ मिटर गहिराईको ताल चारैतिरबाट साल, साज, जामुनको घना जङ्गलले ढाकिएको छ ।

वर्षभरि दर्शनार्थी जाने झिलमिला तालमा माघे संक्रान्तिको अघिल्लो दिन भव्य मेला लाग्ने गर्छ । त्यस दिन स्वदेश विदेशका दर्शनार्थीहरु रातभर जाग्राम बसेर भजन किर्तन गर्छन् । अर्को दिन देवी देवताका मन्दिरमा पूजापाठ गरी घर फर्किने चलन रहेको छ । भीमदत्त नगरपालिकाले पर्यटकहरुलाई तालसम्म पुग्न सहज हुने गरी मोटर बाटो पु¥याउने कार्य अघि सारेको छ । मटेना हुँदै ताराकोटसम्म पक्की सडक र त्यसपछि डेढ किलोमिटरमा पदमार्ग निर्माण गरी तालसम्म सहज पु¥याउने योजना अघि सारिएको भीमदत्त नगरपालिका वडा न।९ का अध्यक्ष राम नाथले बताए ।

धार्मिक लगायत पर्यटकीय महत्व बोकेको झिलमिला तालको उचित प्रचारप्रसारले धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन सकिने कुरामा कुनै दुई मत छैन । पर्याप्त प्रचारप्रसारका लागि स्थानीय, प्रदेश तथा केन्द्रिय सरकारको ध्यान जान जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);