काठमाडौं, २३ चैत । देशभरका अधिकांश स्वास्थ्य संस्थामा रेबिजविरुद्ध भ्याक्सिनको चरम अभाव देखिएको छ । सरकारले निःशुल्क गरेको सो भ्याक्सिनको अभाव हुँदा कुकुरलगायत जनावरको टोकाइबाट प्रभावितको ज्यान उच्च जोखिममा रहेको छ । चिकित्सकका अनुसार रेबिज प्राणघातक रोगअन्तर्गत पर्छ । मागको तुलनामा एक चौथाइ कम मात्रै भ्याक्सिन खपत हुन्छ । अहिले देशभरका स्वास्थ्य संस्थामा मासिक ४० हजार रेबिजविरुद्ध भ्याक्सिनको माग छ ।
यसरी हेर्दा वार्षिक ४ लाख ८० हजार भ्याक्सिन आवश्यक पर्ने देखिन्छ । चालू आर्थिक वर्षका लागि अझै १ लाख २० हजार भ्याक्सिन आवश्यक पर्छ तर खरिद प्रक्रिया लामो हुने हुँदा भ्याक्सिन आइपुग्ने-नपुग्ने निश्चित नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर खरिद गर्नुपर्ने र खरिद गरेपछि नेपाल आइपुग्न निकै लामो समय लाग्ने भएकाले पनि समस्या देखिएको ईपीडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षको तीन महिनाका लागि १ लाख २० हजार भ्याक्सिन माग रहेको छ । तर, महाशाखासँग ४० हजार भ्याक्सिन मात्रै स्टक छ । यसरी हेर्दा भ्याक्सिनको चरम अभाव हुन सक्ने देखिएको हो ।
हाल सरकारले रेबिजविरुद्ध भ्याक्सिन शीर्षकमा ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको महाशाखाका निर्देशक डा. लालले बताए । उनले भने, ‘रेबिज प्राणघातक रोग हो । तर, सरकारले गत वर्षभन्दा झन् बजेट घटाएर पठाएको छ ।’ गत वर्ष सो शीर्षकमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।




