अभिभावकलाई शिक्षाविद्का ५ टिप्स : पास गराउनेभन्दा सिकाउने विद्यालय रोज्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

अभिभावकलाई शिक्षाविद्का ५ टिप्स : पास गराउनेभन्दा सिकाउने विद्यालय रोज्नुहोस्

bidhyanath koirala

काठमाडौं, १५ चैत । सरकारी तथ्यांकअनुसार अहिले निजी विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको छ । यो वर्ष एसइई दिने चार लाख ७५ हजार तीन परीक्षार्थीमध्ये सामुदायिकबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सात छन् । निजी विद्यालयबाट एसइई दिनेको संख्या बढ्दो दरमा छ । निजी विद्यालय आक्रामक ढंगबाट आइरहेका छन् । सरकारी विद्यालयको कमजोरीका कारण निजी फस्टाएका छन् । तर, अभिभावकले आफ्नो निवासबाट दूरीका आधारमा बालबालिकाका लागि विद्यालय छनोटलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । बालबालिकालाई घरनजिकैका विद्यालयमा पढाउनुपर्छ । जस्तैः हुम्लामा भएका केटाकेटीलाई काठमाडौंका स्कुल छनोट गर भन्न मिल्दैन ।

 आफ्नो आर्थिक स्तर तौलिनुहोस्
केटाकेटी पढाउन पैसा कसले हाल्ने हो ? बाबुआमाले छोराछोरीका लागि खर्च गर्ने हो । आफूसँग भएको पैसाका आधारमा आँट गर्नुपर्छ । आर्थिक हिसाबले सोचेर आफूलाई उपयुक्त शुल्क भएका विद्यालय छनोट गर्नुपर्छ ।

 नठगिने विद्यालय रोज्नुहोस्
अभिभावकले आफू नठगिने शैक्षिक संस्था खोज्नुपर्छ । अहिले मेडिकल साइन्सका विद्यार्थी कति धेरै ठगिएको विषय बाहिर आएको छ । पहिले थोरै पैसा भन्ने, पछि बढाउँदै लाने गरेको सार्वजनिक भइरहेका छन् । इमानदार संस्था कहाँ छ भनेर खोज्नुपर्ने भयो । इमानदारी निजीमा छ कि सामुदायिकमा, त्यो हिसाबले खोज्नुप-यो ।

 विद्यालयको शिक्षण अवस्था बुझ्नुहोस् 
अहिले कतिपय विद्यालयमा भर्ना हुनका लागि ठूलो लाइन छ । यसमा केही मनोविज्ञान र विश्वासले काम गरेको छ । त्यहाँ पढेका केटाकेटीले अरू ठाउँभन्दा सहज रूपमा अवसर प्राप्त गर्न सक्छन् भन्ने विश्वास हुन सक्छ । कतिपय अभिभावकसँग धेरै पैसा छ, धेरै खर्च गरेमा इज्जत हुन्छ भन्ने मनोविज्ञान पनि रहेको छ ।

 कतिपय विद्यालयमा सिकाउने तरिका नै फरक छ । कतिपय विद्यालयले पढ्नका लागि सिकाउँछन्, अधिकांशले पास हुनका लागि घोक्न सिकाउँछन्, केहीले सिक्नका लागि सिकाउँछन् । अहिले अधिकांश विद्यालयमा घोकेर पास गर्ने पद्धति भयो । यस्तो पद्धति एसइईसम्म छ । सोचेर लेख्ने वा ‘लर्निङ टु लर्न’ गराउने शैक्षिक संस्थालाई प्राथमिकतामा राख्नुपर्छ । शिक्षकको उपलब्धतामा पनि ध्यान दिनुपर्छ । शिक्षक निरन्तर उपलब्ध हुने हो कि आउने–जाने गर्छन्, हेर्नुपर्छ । विद्यालयमा सिंगल ट्र्याक सिस्टम छ भने विद्यार्थीलाई रहर लागेको विषय पढ्न सक्छ । विद्यालयले विद्यार्थीको रहरअनुसारको विषय र शिक्षक दिन सक्छ कि सक्दैन भन्ने पनि बुझ्नुहोस् ।

 धेरै विकल्प भएका ठाउँमा धेरै नै सोच्नुहोस् 
अहिले विद्यालय छनोटका विकल्प धेरै छन् । आफूलाई उपयुक्त हुने विद्यालय पहिचान गरेर मात्रै छनोट गर्नुपर्छ । विकल्प नभएको स्थानमा छनोट गर्न कठिन छैन किनभने अर्को विकल्प नै छैन । धेरै भएका ठाउँमा राम्रा–नराम्रा सबै किसिमका विद्यालय छन्, छनोट गर्न कठिन छ । सहरमा विद्यालयहरूको प्रचारप्रसार बढी छ । यो समाचार आजको नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);