काठमाडौं, १४ चैत । सरकारले ७७ ओटा परियोजनालाई ‘शोकेस’मा राख्दै ४० मुलुकका लगानीकर्तालाई लगानी सम्मेलनमा आमन्त्रण गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा त्यसबारे जानकारी दिएका हुन् । उनका अनुसार चैत १५ र १६ मा हुने सम्मेलनमा सरकारका ५० र निजीक्षेत्रका २७ परियोजनालाई ‘शोकेस’मा राखिएको छ ।
सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहित ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने मन्त्री डा. खतिवडाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा म्यान्माका लगानी तथा वैदेशिक आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन र विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा कार्यकारी केइको होन्डा सहभागी हुने भएका छन् ।
यस्तै, अन्तरराष्ट्रिय वित्त निगमका आर्थिक तथा निजीक्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेश, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन सम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर, युनिलिभर लगायत विश्व प्रसिद्ध कम्पनीका उच्च पदस्थ व्यक्तिको सहभागिता रहने मन्त्री खतिवडाले जानकारी दिए ।
सम्मेलनमा सबैभन्दा बढी चीनबाट २६५, भारतबाट १२०, जापानबाट २१, म्यान्माबाट १९ लगानीकर्ताको सहभागिता रहने लगानी बोर्डले जानकारी दिएको छ । यो समाचार आजको अभियान दैनिकमा छ ।