काठमाडौं, १३ चैत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंले घरदैलो कार्यक्रम शुरु गरेको छ । बुधवार महानगरीय प्रहरी परिसर काठमाण्डौ र समुदाय–प्रहरी साझेदारी जिल्ला समिति काठमाडौंद्वारा काठमाडौं महानगरपालिको वसन्तपुर डवलीमा संयुक्त रुपमा एक समारोहबीच घरदैलो कार्यक्रम शुभारम्भ भएको हो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले वसन्तपुर डवलीस्थित एक घरमा समुदाय–प्रहरी साझेदारी सम्बन्धि स्टिकर टाँसेर उक्त कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा मेयर शाक्यले समुदायले प्रहरीसँग समन्वय गरी सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई जनताले महत्वपूर्ण सूचना दिएर सहयोग गरेमा नसोचेका घटनालाई रोकथाम गर्न र शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए ।
त्यसैगरी कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउदै लैजानुपर्नेमा जोड दिए ।