काठमाडौं, ९ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको प्रोत्साहन भत्ता गत साउन महिनादेखिकै उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा सरोकारवाला निकायसँगको भेटमा उनले गत साउन महिनादेखिकै पुनर्निर्माणका खटिएका इन्जिनियरहरुको प्रोत्साहन भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सहमति लिइएको पनि स्पष्ट पारे ।
पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्दै आन्दोलन सुरु गरेका थिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले इन्जिनियरहरुको सेवा सुविधामा कुनै कमी हुन नदिने उल्लेख गर्दैै आन्दोलन छोडेर पुनर्निर्माणको काममा केन्द्रित हुन पनि आह्वान गरे ।
प्राधिकरणले पुनर्निर्माणका खटिएका इन्जिनियरहरुको थप सेवा र सुविधा सम्बन्धित स्थानीय तहले सिफारिस गरेको आधारमा उपलब्ध गराउने पनि जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्बन्धित स्थानीय तहले गरेको सिफारिसको आधारमा इन्जिनियरहरुको थप सेवा, सुविधा उपलब्ध गराउने पनि स्पष्ट पारे ।
प्राधिकरणले निजी आवास निर्माणको काम मानवीय संवेदनासँग जोडिएकाले सो काममा ढिलाई नगर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै आएको छ ।




