काठमाडौं, ८ चैत । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा चुनावको सरगर्मि शुरु भएको छ । आगामी अप्रिल ११ अर्थात चैत्र २८ देखि भारतमा शुरु हुने १७ आैं लोकसभा चुनावका लागि दलहरुले आफ्ना उम्मेदवारहरुको सूचि सार्वजनिक गरेका छन् ।
दलहरुले सूचि सार्वजनिक गरेसंगै भारतमा चुनावी सरगर्मि सुरु भएको छ । चुनावका लागि सत्तारुढ दलदेखि लिएर नाम मात्रका स–साना दलहरु पनि चुनावी मैदानमा होमिएका छन् । आम निर्वाचन भएकै कारण पनि सवै दलहरुले आफ्नो शक्ति प्रदर्शनलाई तीव्रता दिएका छन् ।
चुनाव सम्मुखमा रहँदा उनीहरुका गतिविधिले अहिले भारतीय राजनीतिक वृत्त तरंगित बनेको छ । भारतीय निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या २ हजार २ सय ९३ छ ।
भारतीय जनता पार्टीले विहिवार पत्रकार सम्मेलन गरी आफ्नो पार्टीका १ सय ८४ जना उम्मेदवारको नाम घोषणा गरेको हो । घोषित सूचीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि बनारसबाट उम्मेदवार बन्ने भएका छन् । २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै उम्मेदवार बनेका थिए ।
सार्वजनिक सूचीमा वरिष्ठ नेता तथा पूर्वअध्यक्ष लालकृष्ण आडवाणीको नाम भने छैन । आडवानीको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टी अध्यक्ष अमित शाह उम्मेदवार बन्ने भएका छन् ।
भाजपाका पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उम्मेदवार हुने भएका छन् । अर्का वरिष्ठ मन्त्री नीतिन गड्करी पनि पुनः नागपुरबाटै चुनाव लड्ने भएका छन् ।
प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १ सय ४६ जना उम्मेदवारको सूची सार्वजनिक गरेको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भारतमा जम्मा केबल ७ वटा मान्यताप्राप्त राष्ट्रिय दलहरु छन् भने बाँकी ५९ वटा राज्यस्तरका मान्यताप्राप्त दलहरु हुन् ।
निर्वाचन आयोगमा दर्ता भएका दलहरुमध्ये १ सय ४९ दलहरु फेब्रुअरी र मार्च महिनाको अवधिमा मात्र दर्ता भएका थिए । यो वर्षको फेब्रुअरी महिनासम्म भारतमा केबल २ हजार १ सय ४३ वटा पार्टीहरु मात्र आयोगमा दर्ता भएका थिए ।