टोकियो (जापान), ६ चैत । सन् २०१९ को फेबु्रअरीमा जापानको निर्यात लगातार तेस्रो महीना घटेको छ । बाह्य मागमा आएको कमीका कारण निर्यात प्रभावित भएको हो । यसलाई निर्यातमा निर्भर अर्थतन्त्र सुस्ताउने संकेतका रूपमा हेरिएको छ । त्यहाँको अर्थमन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार गतवर्षको सोही अवधिको तुलनामा फेबु्रअरीमा निर्यात १ दशमलव २ प्रतिशत घटेको छ ।
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरूले भने निर्यात शून्य दशमलव ९ प्रतिशत घट्ने बताएका थिए । गतवर्षको सोही अवधिको तुलनामा जनवरीमा पनि निर्यात ८ दशमलव ४ प्रतिशत घटेको थियो । पछिल्लो समय कार, स्टिल र चिपको निर्यात घट्न थालेपछि विगत ३ महीनायता निर्यात घट्दो क्रममा छ ।
अमेरिका र यूरोपलगायत देशतर्फको निर्यात स्थिर रहे पनि चीन र एशियाली देशतर्फको निर्यात भने स्पष्ट देख्ने गरी नै सुस्ताएको नोरिन्चुकिन रिसर्च इन्स्टिच्युटमा प्रमुख अर्थशास्त्री ताकेशी मिनामी भन्छन् । आगामी केही महीनासम्म निर्यात घट्दो क्रममा रहने र अक्टोबरमा विक्री कर बढाउनुअघि घरेलु अर्थतन्त्रले गम्भीर अवस्थाको सामना गर्न सक्ने उनको भनाइ छ । यो समाचार अभियान दैनिकमा प्रकाशित छ ।