सामाजिक सुरक्षा योजना आफैँ अगाडि बढ्यो उदयपुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

सामाजिक सुरक्षा योजना आफैँ अगाडि बढ्यो उदयपुर

udaypur

गोपाल पोखरेल
उदयपुर, २७ फागुन । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरवासीका लागि आफ्नो छुट्टै सामाजिक सुरक्षा योजना अगाडि सारेको छ । विशेष गरी आगलागी पीडित, गरिव, दीर्घ रोगी र अशक्त बृद्धबृद्धालाई लक्षित गरी योजना ल्याइएको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको सामाजिक सुरक्षा योजना कार्यक्रम अनुसार आगलागीबाट पीडित हुने नगरवासीलाई क्षतिको अवस्था हेरेर पुनस्थापनाका लागि ५ हजारदेखि ३ लाख रुपैंयाँसम्म सहयोग गरिन्छ । त्यसैगरी नगरपालिकले दीर्घरोग लागेका र नेपाल सरकारले तोकेका ८ प्रकारका रोगहरु मृगौला, मुटु, फोक्सो, क्यान्सर पीडित लगायतका विरामीलाई अस्पतालले दिएको प्रमाणका आधारमा ५० हजार रुपैयाँ सहयोग गर्ने छ ।

त्यसैगरी ६५ वर्ष उमेर पूरा गरेका बृद्धबृद्धा विरामी भएमा ५ हजार देखि २५ हजार रुपैयाँ र बृद्धभत्ता लिइरहेका बृद्धबृद्धाको मृत्यु भएमा तत्काल १० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था कार्यान्वयन हँुदै आएको छ । यी सामाजिक सुरक्षा कायक्रमले विशेष गरी गरिब तथा बिपन्न नगरवासीलाई प्रत्यक्ष फाइदा पुग्ने स्थानीयको भनाई छ ।

गरिव, दीर्र्घरोगी र बुढेसकालको जीवनयापन गरिरहेका सर्वसाधारणलाई लक्षित गरेर यो कार्यक्रमले उनीहरुको उपचार, पुनस्थापना र सामाजिक संस्कार सम्पन्न गर्ने कुरालाई जोड दिएको छ । यसले सामाजिक सुरक्षा भत्ता वितरणमा हुने भनिएको अनियमिततालाई रोक्दै जनतामा सिँहदरवारको अधिकार गाउँघरमा आएको अनुभूति हुने नगरपालिका प्रमुख खगेन्द्र राईले बताए ।

नगरपालिकाको यो योजनाले नगरका आमसर्वसाधारणलाई फाइदा पुग्ने आशा स्थानीयले गरेका छन् । नगरपालिकाको सामाजिक सुरक्षा कार्यक्रमप्रति सर्वसाधारणले खुशी व्यक्त गरेका छन् भने स्थानीय सरकारप्रति अशक्त तथा असहाय नागरिकलाई आशा जगाइ दिएको छ । यस्तो सामाजिक कार्यले निरन्तर पाओस् भन्ने स्थानीयको माग देखिन्छ ।