काठमाडौं, २६ फागुन । नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेका नेपाली नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने भएका छन् ।
‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाईँ सरेका नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने व्यवस्था गरिएको हो । आइतवार बसेको राज्य ब्यवस्था समितिको बैठकमा पुरानो नागरिकता खिची नयाँ ठेगानाबाट स्थानीय प्रशासनले नागरिकता दिने व्यवस्था विधेयकमा गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिए ।
विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले तेस्रो लिंगीले पनि नागरिकता पाउनुपर्ने व्यवस्था ऐनमै गर्न सरकारसँग माग गरेका थिए ।
यता, गृह सचिव प्रेमकुमार राईले भने तेस्रो लिंगीलाई चिकित्सकहरुले प्रमाणित गरेपछि मात्रै नागरिकता दिने व्यवस्था गर्ने स्पष्ट पारे ।विधेयकमा तेस्रो लिंगीलाई नागरिकता दिने व्यवस्था गरिए पनि उनीहरु तेस्रो लिंगी भए/नभएको छुटट्याउने आधार पेश गरिएको छैन ।