त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नति : ३ अर्ब ७५ करोडमा कालोपत्र फेरिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नति : ३ अर्ब ७५ करोडमा कालोपत्र फेरिँदै

airport tayari

काठमाडौं, २६ फागुन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘रनवे रिह्याबिलिटेशन’ (धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम) चैतदेखि शुरू हुने भएको छ । रू. ३ अर्ब ७५ करोडमा पुरानो कालोपत्र उप्काएर नयाँ हालिन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

चैत्र १८ गतेदेखि राति विमानस्थल १० घण्टा बन्द गरी काम गरिने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । शुरूमा रनवेको सेन्टरलाइन लाइट लगाउने र सँगसँगै कालोपत्र हालिनेछ । निर्माण कम्पनीले तीन महीनाभित्रै रनवे तथा ट्याक्सी वेको काम सक्ने उनले बताए । उनले भने, ‘दैनिक ८० मिटरका दरले धावनमार्गको कालोपत्र गरिनेछ ।’ नयाँ कालोपत्र हालेपछि विमानस्थलको रनवेमा अबको २५ देखि ३० वर्षसम्म कुनै समस्या नआउने उनले बताए ।

यसअघि चार पटक ‘ओभर ले’ (कालोपत्रे थप्ने कार्य) भए पनि कालोपत्र फेर्न थालिएको भने पहिलो पटक हो । सन् १९६७ पछि धावनमार्ग मर्मतका क्रममा क्रमशः सन् १९७५, १९८५, १९९५ र २०१० गरी चार पटकसम्म ओभर ले (पिच थप्ने काम) गरिएको थियो । कालोपत्र नफेरिँदा विमानस्थल धावनमार्गको पिच फुट्ने र उप्कने समस्या देखिँदै आएको थियो ।

कालोपत्र फेर्ने काम चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशनले पाएको छ । गत मंसिरमा प्राधिकरण र कम्पनी वीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । कालोपत्रको काम शुरू भएपछि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिने त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले जानकारी दिए । उनले भने, ‘यसको लागि सबै राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानको ‘स्लट’ बिहान ८ बजेदेखि राति १० बजेसम्ममा व्यवस्थापन गरिनेछ ।’

लुक्लाको लागि हुने उडानलाई रामेछापबाट गर्ने गरी आन्तरिक हवाई सेवा प्रदायकहरूसँग छलफल भइरहको समेत उनले जानकारी दिए । काठमाडौं –लुक्लामा सिजनमा ५० देखि ५५ ओटा उडान हुने गर्छन् । विमानस्थलमा अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान गरी दैनिक ३ सय विमानहरूको ‘मुभमेन्ट’ हुने गरेको छ, जसमा २८ ओटा अन्तरराष्ट्रिय तथा अन्य आन्तरिक उडान हुने गर्ने गरेको क्षत्रीले बताए । अहिले विमानस्थल २२ घण्टा सञ्चालन हुने गरेको छ ।
विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइमा फैलिएको छ । विमानस्थलमा ट्विनटर, एटीआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुने गर्दछ । विमानस्थलमा अन्तरराष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ १७ वटा पार्किङ वे रहेको छ । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);