सिन्धुली, २५ फागुन । फिक्कल गाउँपालिका— ४ खाङसाङस्थित सुनकोसी माविको कक्षा ९ मा अध्ययनरत पासाङ तामाङलाई घरमै बसेर पढेको जस्तो अनुभव हुन्छ । ऐच्छिक विषय गणित रोजेका उनी कक्षाका एक्ला छात्र हुन् ।
विद्यालय प्रांगणमा अध्यापन गराइरहेका शिक्षक यादवले विद्यार्थी संख्या कम भएकाले जति जनाले जुन विषय रोज्यो त्यसमा पूरा समय दिएर पढाउनुपर्ने बताए । ट्युसन पढाउँदा १० जनाभन्दा बढी हुने तर विद्यालयमा एक्ला विद्यार्थीलाई कक्षामा होइन, चौरमा राखेर पढाउँछन् । त्यसो त विद्यार्थी संख्या नै कक्षा ९ मा १८ जना रहेको छ ।
विद्यार्थी कम भएर एक्लो पढ्न पाउँदा तामाङ भने दंग छन् । भन्छन्, ‘एक्लै पढ्दा नजानेको सबै सोध्न पाइन्छ, पूरा समयपढ्दा धेरै सिक्न पाइने रहेछ ।’ यसै शैक्षिक सत्रमा एसईई परीक्षामा सामेल हुने कक्षा १० मा भने उक्त माविमा ८ जना मात्र विद्यार्थी रहेका छन् ।
ती ८ जना विद्यार्थीलाई अध्यापन गराइरहेकी शिक्षिका कुन्ता दाहाल विद्यार्थी संख्या घट्दै गएकोमा चिन्तित छिन् । ‘हामीले पूरा समय पढाउने हो तर विद्यार्थी कम हुँदै जाँदा दिक्क लागेर आउँदो रहेछ,’ उनले भनिन् ।