मन्त्री अधिकारीको अन्त्येष्टिमा उर्लियो मानवसागर | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

मन्त्री अधिकारीको अन्त्येष्टिमा उर्लियो मानवसागर

rabinbdra adhikari sabyatra

पोखरा, १८ फागुन ।  ‘काँधमा थपथपाउँदै आउने, बुबाआमालाई नमस्कार गर्दै सन्चै हुनुहुन्छ भन्दै आउने त्यो मित्र, त्यो छोरो आज हामीले गुमाएका छौं भनेर कल्पना पनि गर्न सकेका छैनौं’, एक कक्षादेखि सँगै पढेका धनराज आचार्यले रवीन्द्र अधिकारीबारे यसो भनिरहँदा धेरैका आँखा रसाए। कोही भक्कानिँदै उनको शवमा फूल चढाउँथे। कोही आँसु लुकाउँथे त कोही र आँखा छोप्थे। विह्वल बन्दै पोखरेलीले आफ्ना प्रिय नेता रवीन्द्र अधिकारीलाई शुक्रबार अन्तिम बिदाइ गरेका छन्।

रुँदारुँदै थाकेकी रवीन्द्रकी पत्नीलाई कान्छा छोरा स्वराज घरी आँसु पुछिदिन्थे घरी पानी खुवाउँथे। आमा लक्ष्मी र बाबा इन्द्रप्रसादलाई सम्हाल्नै मुस्किल थियो। जेठा छोरा विराज कतिबेला आमा विद्यालाई मुसार्थे र बेलाबेलामा भाइ स्वराजलाई चुप्प खान्थे। भाइ दीपेन्द्र र कमल अनि बहिनी विमलाका आँखा राताराता थिए। रवीन्द्रका स्वकीय सचिव अनेरास्ववियुका नेता अर्जुन अधिकारी परिवारका सदस्य सम्हाल्न खोज्दा आफैं सम्हालिन सक्दैनथे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको अन्तिम बिदाइमा हजारौं पोखरेली सहभागी भए। मध्याह्न साढे १२ काठमाडौंबाट उनको शव ल्याइनसक्दै पोखरा प्रदर्शनी केन्द्रमा हजारौं पोखरेली भेला भइसकेका थिए। साढे ३ बजेसम्म त्यहाँ उनलाई श्रद्धाञ्जली अर्पण गरियो। त्यसपछि शवयात्रा गरी पार्थिव शरीर सेतीनदीको रामघाट पुर्‍याइएको थियो।

शवयात्राका क्रममा सडकमै आएर र घरका बार्दलीबाट उनलाई पोखरेलीले पुष्पार्पण गरे। सर्वसाधारणदेखि राजनीतिक नेताकार्यकर्ता, बुद्धिजीवी, समाजसेवी, कलाकार, खेलाडी, उद्यमी व्यवसायी र विभिन्न पेसाकर्मीले श्रद्धाञ्जली अर्पण गरे। लुक्दै बगेर रामघाटमा आउँदा फैलिएको सेतीनदी किनारमा इतिहासमै अहिलेसम्मकै सर्वाधिक मलामी रवीन्द्रको अन्त्येष्टिमा सहभागी भए।

ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको पार्थिव शरीरमा पत्नी विद्या भट्टराई, छोराहरू विराज र स्वराज अधिकारीले दागबत्ती दिए। शवयात्रा हुनुअघि मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झन्डा ओढाएका थिए। नेकपाका नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको झन्डा ओढाएका थिए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।