काठमाडौं, १६ फागुन । त्रिभुवन आर्मी क्लव पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीवार भएको खेलमा आर्मीले क्यामरुनको दाउफिन्स क्लवलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
योसंगै आर्मीले फाइनलमा थ्रिस्टारसंग प्रतिस्पर्धा गर्नेछ । थ्रिस्टार यस अघि नै एपिएफलाई पराजित गरेर फाइनलमा पुगिसकेको छ । पोखरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनलमा टेक बहादुर बुढाथोकीको पहिलो हाफको गोल निर्णायक बन्दा आर्मीले २०७२ सालपछि पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
१२औं मिनेटमा दिपक गुरुङले दिएको पासलाई अनमार्क रहेका टेक बहादुर बुढाथोकीले हेडर गोल गरेका थिए । ७४औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनाउने मौका गुमायो । कप्तान भरत खवासले दुई जना डिफेन्डरलाई विट गरेर पाएको वन भर्सेस वनको मौकालाई पनि गोलमा परिणत गर्न सकेनन् ।
८५औं मिनेटमा यान्निक ओवाना रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दाउफिन्स १० खेलाडीमा सिमित बन्यो । बाँकी समयमा दाउफिन्स खेलमा फर्किन नसक्दा पराजित हुन पुग्यो ।