काठमाडौं, १६ फागुन । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शिर्ष टोली लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५–० गोलले हरायो भने अर्को खेलमा सिटीले वेस्टहाम युनाईटेडलाई १–० गोलले हरायो । सिटीको कठिन जितमा सर्जियो एग्युरोले ५९ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । लन्डन क्लब चेल्सीले बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई २–० गोलले पराजित गरेको छ ।चेल्सीले दबदबा जमाएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
५७ औँ मिनेटमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका हुन् । बुधबार रातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । बुधबारको खेलसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले २८ खेलबाट ६९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सिटीको समान खेलबाट ६८ अंक पुगेको छ । चेल्सीसँग हारेपनि टोट्टनहाम ६० अंक सहित तेस्रो स्थानमा यथावत छ । ५६ अंक बनाएको आर्सनल चौथो, ५५ अंक बनाएको युनाइटेड पाँचौं र ५३ अंक बनाएको चेल्सी छैटौं स्थानमा छ ।